काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण मरेका पशुपन्छीका शव नदीले बगाएर तटीय क्षेत्रमा ल्याउन थालेपछि पशु सेवा विभागले मृत पशुपन्छीको सुरक्षित सङ्कलन तथा व्यवस्थापनका लागि विशेष विधि तयार गरेको छ।
२०८३ भदौ १० गते आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो संख्यामा पशुपन्छी मरेका छन्। तीमध्ये केही शव हाल त्रिशूली तथा नारायणी नदीले बगाएर नदी किनार तथा तटीय क्षेत्रमा थुपारिरहेको विभागले जनाएको छ।
नदी किनारमा फेला परेका मृत पशुपन्छीका शवलाई खुला रूपमा कुहिन दिने वा असुरक्षित तरिकाले गाड्ने कार्यले संक्रामक पशु रोग फैलिन सक्ने जोखिम बढाउने विभागको भनाइ छ। साथै, यस्तो अवस्थाले मानव स्वास्थ्य र वातावरणीय स्वास्थ्यमा समेत नकारात्मक असर पार्न सक्ने भएकाले सुरक्षित व्यवस्थापन आवश्यक रहेको विभागले जनाएको छ।
विभागले मृत पशुपन्छीको शवलाई सुरक्षित रूपमा सङ्कलन, ढुवानी र व्यवस्थापन गर्ने प्रक्रियालाई व्यवस्थित बनाउन उक्त विधि तयार गरेको हो। विशेषगरी नदी किनार, बस्ती तथा सार्वजनिक स्थानमा भेटिएका पशुपन्छीका शवलाई सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्नेमा विभागले जोड दिएको छ।
मृत पशुको शव व्यवस्थापन गर्दा सम्बन्धित स्थानीय तह, पशु सेवा प्राविधिक तथा अन्य सरोकारवाला निकायसँग समन्वय गर्नुपर्ने विभागले जनाएको छ। शव व्यवस्थापनका क्रममा प्रत्यक्ष सम्पर्कबाट रोगजन्य जीवाणु तथा अन्य संक्रमण फैलिन सक्ने भएकाले आवश्यक व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गर्नसमेत सुझाव दिइएको छ।
बाढीपछि पशुपन्छीको मृत्यु भएको क्षेत्रमा रोगको सम्भावित जोखिम नियन्त्रण गर्न मृत शवको सुरक्षित व्यवस्थापनलाई विपद् व्यवस्थापनकै महत्वपूर्ण पक्षका रूपमा लिनुपर्ने विभागको भनाइ छ।
विभागले तयार गरेको विधिअनुसार मृत पशुपन्छीको शव खुला ठाउँमा फाल्ने, नदीमा बगाउने वा मानव तथा पशुको पहुँच हुने स्थानमा असुरक्षित रूपमा गाड्ने कार्य नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।