काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको विनाशकारी भोटेकोशी बाढीले नेपालका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि राहत र उद्धारमा सहयोग जुटाउन बि एण्ड बि ग्रुप परिवारले मानवीय अग्रसरता देखाएको छ।
वि.सं. २०८३ भाद्र १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ग्रुपले विपद्मा परेका परिवारको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल रु. ४ लाख ४४ हजार ४४४ रुपैयाँ सहयोग गरेको हो।
ग्रुपअन्तर्गत सञ्चालित तीनवटा कम्पनीका तर्फबाट उक्त रकम प्रदान गरिएको हो। जसअनुसार बि एण्ड बि फ्रेस हाउस प्रा.लि. ले रु. २ लाख २२ हजार २२२, के.नेट फिड इन्डस्ट्री प्रा.लि. ले रु. १ लाख ११ हजार १११ र सन फुड नेपाल प्रा.लि. ले रु. १ लाख ११ हजार १११ सहयोग गरेका छन्।
बि एण्ड बि ग्रुपले विपद्का कारण ज्यान गुमाएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बाढीपहिरोपछि सम्पर्कविहीन भएका व्यक्तिहरू सकुशल आफ्ना परिवार तथा आफन्तको सम्पर्कमा फर्किन सकून् भन्ने कामनासमेत ग्रुपले गरेको छ।
ग्रुपका अनुसार विपद्को समयमा गरिएको सहयोग रकमको आकारभन्दा त्यसमा जोडिएको मानवीय भावना र सामाजिक उत्तरदायित्व महत्वपूर्ण हुन्छ। संकटमा परेका परिवारलाई राहत प्रदान गर्न निजी क्षेत्र, संघसंस्था तथा सर्वसाधारण सबैले आफ्नो सामर्थ्यअनुसार सहयोग गर्नुपर्ने ग्रुपको धारणा छ।
“सेवा नै धर्म हो” भन्ने भावनालाई आत्मसात् गर्दै विपद्मा परेका नागरिकको पीडामा साथ दिन तथा राहत र उद्धार अभियानमा आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्न बि एण्ड बि ग्रुप परिवारले सबैमा हार्दिक अपिल गरेको छ।
बि एण्ड बि ग्रुप परिवारको यो सहयोग रकमभन्दा माथि उठेर विपद्मा एकअर्काको साथ बन्नुपर्ने मानवीय दायित्वको सन्देश पनि हो।