भोटेकोशी बाढी प्रभावितका लागि कान्तिपुर पोल्ट्रीको १ लाख २ रुपैयाँ सहयोग

poultrymanchnepal.com

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कान्तिपुर पोल्ट्री ब्रिडिङ फार्म प्रा.लि., निजगढ, बाराले १ लाख २ रुपैयाँ सहयोग गरेको छ।


कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। ग्लोबल आइएमई बैंक, निजगढ शाखामार्फत रकम जम्मा गरिएको बैंक भौचरमा उल्लेख छ।


बाढी प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।


भोटेकोशी बाढीबाट विभिन्न क्षेत्रमा जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी निकायसँगै निजी क्षेत्र, व्यवसायी तथा विभिन्न संघसंस्थाबाट सहयोग जुटिरहेको छ।


कान्तिपुर पोल्ट्रीले पनि विपद्को समयमा प्रभावित समुदायप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उद्धार तथा राहत कोषमा आर्थिक सहयोग गरेको हो।


कम्पनीले रु. १,००,००२ सहयोग गरेको प्रमाणका रूपमा ग्लोबल आइएमई बैंक, निजगढ शाखाबाट जारी बैंक भौचरसमेत सार्वजनिक गरेको छ।



प्रतिक्रिया