काठमाडौं, साउन ५ – बर्डफ्लू संक्रमणको असर क्रमशः कम हुँदै गएपछि देशभर अण्डाको बजारमा सकारात्मक सुधार देखिएको छ। उपभोक्ताको माग बढ्न थालेसँगै नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य सार्वजनिक गरेको छ।
संघले चितवनमा सोमबार सम्पन्न भौतिक तथा भर्चुअल संयुक्त बैठकबाट देशभरका अण्डा उत्पादकको सुझाव र बजार अवस्थाको समीक्षा गर्दै साउन ६ गतेदेखि लागू हुने नयाँ मूल्य निर्धारण गरेको जनाएको छ।
नयाँ मूल्यअनुसार चितवनलाई आधार मानेर एक्सएल अण्डा प्रतिक्रेट रु ५१५, ठूलो अण्डा रु ५००, मिडियम अण्डा रु ४७० र सानो अण्डा प्रति पेटी रु २,९०० कायम गरिएको छ। उपभोक्ताका लागि अण्डाको सिफारिस गरिएको खुद्रा मूल्य प्रतिगोटा रु २५ तोकिएको छ।
संघका सचिव मदन पोखरेलका अनुसार पछिल्ला केही सातायता बर्डफ्लूको प्रभाव उल्लेखनीय रूपमा घटेपछि बजारमा अण्डाको माग बढेको छ। उत्पादन अपेक्षाकृत कम रहेको अवस्थामा खपत बढेकाले मूल्य समायोजन गर्नुपरेको उनले बताए।
बर्डफ्लूका कारण लामो समयसम्म न्यून मूल्यमा अण्डा बिक्री गर्न बाध्य भएका किसानहरू अहिले बजारमा देखिएको सुधारबाट राहत महसुस गर्न थालेका छन्। संघले निर्धारण गरेको नयाँ समर्थन मूल्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै उत्पादक, वितरक र व्यवसायीलाई आग्रह गरेको छ।