बाढीपछि पशु स्वास्थ्यमा उच्च सतर्कता, प्रभावित जिल्लामा विशेष टोली परिचालन गर्न मन्त्री चौधरीको निर्देशन

poultrymanchnepal.com

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बाढीपछि पशुचौपायामा संक्रामक रोग फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै तत्काल रोकथाम तथा नियन्त्रणका उपाय अपनाउन पशु सेवा विभागलाई निर्देशन दिएकी छन्।

बाढीका कारण पशुचौपायाको आवतजावत तथा एकअर्कासँगको सम्पर्क बढ्न सक्ने भएकाले संक्रमणको जोखिमसमेत बढ्ने भन्दै मन्त्री चौधरीले पशु स्वास्थ्यमा विशेष निगरानी र सतर्कता अपनाउन निर्देशन दिएकी हुन्।

मन्त्री चौधरीले विशेषगरी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा विशेष टोली परिचालन गरी पशु स्वास्थ्य अवस्थाको नियमित अनुगमन गर्न निर्देशन दिएकी छन्। ती जिल्लामा सम्भावित संक्रामक रोगको पहिचान, रोकथाम तथा नियन्त्रणका लागि आवश्यक काम तत्काल अघि बढाउन विभागलाई भनिएको छ।

विपद्को समयमा मानव स्वास्थ्यसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकतामा राख्नुपर्ने मन्त्री चौधरीले बताएकी छन्। पशुजन्य रोगको सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्दै आवश्यक कदम तत्काल चाल्नुपर्नेमा उनले जोड दिएकी छन्।

बाढी प्रभावित क्षेत्रमा पशु स्वास्थ्यसम्बन्धी जोखिमको नियमित अनुगमन, सम्भावित रोगको समयमै पहिचान तथा आवश्यक उपचार र नियन्त्रणका उपाय प्रभावकारी रूपमा सञ्चालन गर्नसमेत विभागलाई निर्देशन दिइएको छ।

मन्त्री चौधरीले विपद्का कारण पशुचौपायामा देखिन सक्ने स्वास्थ्य समस्या तथा रोगको जोखिमलाई समयमै पहिचान गरी आवश्यक प्राविधिक तथा उपचारात्मक सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई सक्रिय रहन आग्रह गरेकी छन्।


प्रतिक्रिया