बर्डफ्लु संक्रमित कुखुरा बिक्री गरे कडा कारबाही : पशुसेवा विभाग

poultrymanchnepal.com

बर्डफ्लु संक्रमित कुखुरा बिक्री गरे कडा कारबाही 


काठमाडौं। पशुसेवा विभागले बर्डफ्लु संक्रमित कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री गर्ने व्यवसायीमाथि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।


आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले संक्रमित पन्छी बजारमा बिक्री गरेको पाइएमा कानुनी कारबाही गरिने स्पष्ट पारे।


उनका अनुसार गत चैतदेखि देशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी गरी ११ जिल्लामा बर्डफ्लु संक्रमण पुष्टि भएको छ। भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाइएको विभागले जनाएको छ।


संक्रमण नियन्त्रणका लागि प्रभावित जिल्लामा प्राविधिक टोली तथा र्‍यापिड रेस्पोन्स टिम (Rapid Response Team) परिचालन गरिएको छ। केही जिल्लामा संक्रमण नियन्त्रणको चरणमा पुगेको विभागले जनाएको छ।


विभागले मरेका कुखुरा जथाभावी नफाल्न, संक्रमित पन्छी सुरक्षित रूपमा नष्ट गर्न तथा जैविक सुरक्षा (बायोसेक्युरिटी)का मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ। संक्रमित पन्छीको गलत व्यवस्थापनले मानिसमा समेत संक्रमण सर्ने जोखिम बढ्न सक्ने विभागको चेतावनी छ।


हालसम्म काठमाडौं उपत्यकासहित प्रभावित ११ जिल्लामा करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलोग्राम दाना नष्ट गरिएको विभागले जनाएको छ।


प्रवक्ता डा. उपाध्यायका अनुसार बर्डफ्लुविरुद्ध प्रभावकारी खोप उपलब्ध नभएकाले संक्रमण पुष्टि हुनासाथ पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी नियन्त्रण उपाय हो।


यसैबीच, प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत नष्ट गरिएका पन्छीको मूल्यांकन गरी मुचुल्का तयार गर्ने तथा किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक विवरण संकलन भइरहेको विभागले जनाएको छ।


प्रतिक्रिया