बर्डफ्लु प्रभावित किसानलाई राहत : क्षतिपूर्तिका लागि ५० करोड रुपैयाँ निकासा

poultrymanchnepal.com

बर्डफ्लु प्रभावित किसानलाई राहत : क्षतिपूर्तिका लागि ५० करोड रुपैयाँ निकासा


काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ।


मन्त्रालयले बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम उपलब्ध गराएको हो। बर्डफ्लुका कारण आर्थिक क्षति बेहोरेका किसानलाई राहतस्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो।


पशुसेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार निकासा भएको रकमबाट पीडित किसानलाई प्रमाणित क्षतिको अधिकतम ७५ प्रतिशतसम्म क्षतिपूर्ति प्रदान गरिनेछ।


विभागका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्लामा हालसम्म करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलो दाना नष्ट गरिएको छ। यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।


बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) २०७४ अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने कानुनी व्यवस्था रहेको छ।


गत चैतदेखि देशको पूर्वी क्षेत्रबाट फैलिन सुरु भएको बर्डफ्लु संक्रमण हाल ११ जिल्लामा फैलिएको छ। भाइरसको स्वरूप परिवर्तन हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सम्भावित संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रका पन्छी, अण्डा तथा दाना नष्ट गरिएको विभागले जनाएको छ।


रोग नियन्त्रणलाई प्रभावकारी बनाउन विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरिएको छ। साथै, संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी संक्रमण नियन्त्रणका प्रयासहरू निरन्तर अघि बढाइएको विभागले जनाएको छ।


प्रतिक्रिया