नेपालको पोल्ट्री क्षेत्रको आकार बढ्दै, कारोबार १६० अर्ब पुग्यो

poultrymanchnepal.com

काठमाडौं । नेपाल दाना उद्योग संघका लागि डा. दिनेश गौतमले तयार पारेको पोल्ट्री क्षेत्रसम्बन्धी तथ्यांकले नेपालमा पशुपन्छी तथा पोल्ट्री व्यवसायको आकार निरन्तर विस्तार हुँदै गएको देखाएको छ। तथ्यांकअनुसार नेपालमा कुखुराको कुल संख्या करिब १६ करोड ५० लाख पुगेको छ भने पोल्ट्री क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएको कुल कारोबार करिब रु. १६० अर्ब रहेको छ।

डा. गौतमले तयार पारेको तथ्यांकअनुसार नेपालमा गाई, भैंसी, भेडा–बाख्रा र बंगुरसहित कुल पशुधनको संख्या २ करोड ४२ लाख ३१ हजार ९९१ रहेको छ। मानव जनसंख्याको तुलनामा पशुधनको अनुपात करिब १ : ०.८३ रहेको तथ्यांकमा उल्लेख छ।

नेपालको खाद्य तथा पोषण प्रणालीमा पनि पोल्ट्री क्षेत्रको महत्वपूर्ण हिस्सा रहेको देखिन्छ। तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति वार्षिक मासु उपभोग करिब २१ केजी रहेको छ, जसमा करिब ५० प्रतिशत हिस्सा कुखुराको मासुको रहेको छ। त्यस्तै प्रतिव्यक्ति वार्षिक अण्डा खपत ६१ वटा, दूध खपत ९१ लिटर र माछा खपत ४ केजी रहेको उल्लेख गरिएको छ।

१३ लाख मेट्रिक टन दाना उत्पादन

नेपालको पोल्ट्री व्यवसाय विस्तारसँगै दाना उद्योगको उत्पादन पनि बढेको छ। उपलब्ध तथ्यांकअनुसार आर्थिक वर्ष २०२१/२२ मा ११ लाख मेट्रिक टन दाना उत्पादन भएको थियो। आर्थिक वर्ष २०२२/२३ मा उत्पादन बढेर १२ लाख २५ हजार मेट्रिक टन पुगेको थियो।

त्यसपछि आर्थिक वर्ष २०२३/२४ मा उत्पादन केही घटेर ११ लाख ५० हजार मेट्रिक टन भएको थियो। तर २०२४/२५ मा दाना उत्पादन पुनः बढेर १३ लाख मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष २०२५/२६ मा पनि दाना उत्पादन करिब १३ लाख मेट्रिक टन रहने तथ्यांकमा उल्लेख छ।

नेपालमा हाल करिब ११५ वटा दाना उद्योग सञ्चालनमा रहेको तथ्यांकले देखाउँछ। यी उद्योगले ब्रोइलर, लेयर, ब्रीडरलगायतका लागि आवश्यक दाना उत्पादन गर्दै आएका छन्।

१६ करोड ५० लाख कुखुरा तथ्यांकअनुसार नेपालमा हाल करिब १६ करोड ५० लाख कुखुरा रहेको अनुमान गरिएको छ। व्यावसायिक पोल्ट्री उत्पादनतर्फ ब्रोइलर, लेयर तथा ब्रीडरको ठूलो हिस्सा रहेको छ।

हालको संरचनाअनुसार ब्रोइलर ब्रीडरको संख्या करिब १७ लाख ७५ हजार रहेको छ भने लेयर ब्रीडरको संख्या करिब ८५ हजार रहेको छ। त्यस्तै कमर्सियल लेयर्स को संख्या २९ लाख ५० हजार र ब्रोइलरको संख्या करिब ७९ लाख रहेको तथ्यांकमा उल्लेख छ।

ब्रोइलर ब्रीडरबाट साप्ताहिक रूपमा करिब १ लाखदेखि १ लाख १० हजार चल्ला उत्पादन हुने र लेयर्स ब्रीडरबाट पनि करिब सोही हाराहारीमा उत्पादन क्षमता रहेको तथ्यांकमा उल्लेख छ।

हालको GP तथा पेरेन्ट स्टक संरचनालाई आधार मान्दा नेपालमा स्वदेशी ब्रोइलर ब्रीडरबाट चल्ला उत्पादन क्षमता आगामी दिनमा करिब १ लाख २० हजारदेखि १ लाख ३० हजार प्रतिहप्ता पुग्ने अनुमान गरिएको छ।

३५ हजार व्यावसायिक ब्रोइलर फार्म नेपालको पोल्ट्री व्यवसायमा ठूलो संख्यामा व्यावसायिक फार्म आबद्ध छन्। तथ्यांकअनुसार नेपालमा करिब ३ वटा ब्रोइलर GP फार्म, ११५ वटा पेरेन्ट स्टक फार्म, करिब २००  कमर्सियल layers फार्म र करिब ३५ हजार कमर्सियल ब्रोइलर फार्म रहेका छन्।

त्यस्तै गिरिराज, क्रोइलर तथा कलर कुखुरा उत्पादनसँग सम्बन्धित करिब ७ हजार ५०० फार्म रहेको तथ्यांकमा उल्लेख गरिएको छ।

यसले नेपालमा पोल्ट्री व्यवसाय केवल ब्रोइलर र लेयर्स उत्पादनमा सीमित नभई ब्रीडर, ह्याचरी, दाना, औषधि, उपकरण, ढुवानी, मासु तथा अण्डा बजार हुँदै ठूलो आपूर्ति शृंखलाका रूपमा विकास भएको देखाउँछ।

ब्रोइलर ब्रीडरको आयात घट्दै, स्वदेशी उत्पादनमा जोड पछिल्ला वर्षमा नेपालमा ब्रोइलर पेरेन्ट स्टकको आयातमा कमी आएको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०८०/८१ मा २ लाख ४८ हजार २६० ब्रोइलर पेरेन्ट स्टक चल्ला आयात भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा यो संख्या घटेर १ लाख ५६ हजार ९९२ पुगेको छ। आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा ७ हजार २१६ वटा मात्र आयात भएको तथ्यांकमा उल्लेख छ!

लेयर्स ब्रीडर फिमेलतर्फ भने आर्थिक वर्ष २०८०/८१ मा ७७ हजार ९०२, २०८१/८२ मा ७८ हजार २०० र २०८२/८३ को पाँच महिनामा १५ हजार ४३३ वटा आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ।

आयात घट्नुमा स्वदेशमै ब्रीडर तथा पेरेन्ट स्टक उत्पादन क्षमता विस्तार हुनु पनि एउटा महत्वपूर्ण कारणका रूपमा तथ्यांकले संकेत गरेको छ।

कच्चा पदार्थमा अर्बौँको आयात

नेपालको पोल्ट्री उद्योगको विस्तारसँगै दाना तथा अन्य उत्पादनका लागि आवश्यक कच्चा पदार्थको आयात पनि ठूलो छ। तथ्यांकअनुसार मकैमा मात्रै करिब रु. १८ अर्ब ३० करोड बराबरको आयात हुने गरेको छ।

त्यस्तै सोया आयातमा रु. २१ अर्ब १४ करोड, अन्य तेलहन तथा केकमा रु. ६ अर्ब ३५ करोड, दाना तथा औषधिमा रु. ९ अर्ब, औषधि तथा भ्याक्सिनमा रु. ५ अर्ब र उपकरण तथा अन्य कच्चा पदार्थमा रु. ४ अर्ब बराबरको आयात रहेको तथ्यांकमा उल्लेख छ।

चल्ला आयातमा समेत करिब रु. ३४ करोड बराबरको रकम खर्च हुने गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

यी विभिन्न शीर्षकलाई जोड्दा पोल्ट्री क्षेत्रसँग सम्बन्धित आयातमा ठूलो रकम बाहिरिने गरेको देखिन्छ। तथ्यांकअनुसार पोल्ट्री तथा सम्बन्धित क्षेत्रमा प्रयोग हुने स्रोतमा करिब ४४.२ प्रतिशत आयातित स्रोत र ५५.८ प्रतिशत स्वदेशी स्रोतको हिस्सा रहेको छ।

पछिल्लो एक वर्षमा यस क्षेत्रमा हुने आयात करिब ३ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ।

१४५ अर्ब लगानी, १६० अर्ब कारोबार

डा. गौतमले तयार पारेको तथ्यांकमा पोल्ट्री तथा सम्बन्धित क्षेत्रमा करिब रु. १४५ अर्ब लगानी रहेको र यस क्षेत्रको कुल कारोबार करिब रु. १६० अर्ब पुगेको उल्लेख छ।

दाना उद्योगदेखि ब्रीडर, ह्याचरी, कमर्सियल फार्म, औषधि तथा भ्याक्सिन, उपकरण, ढुवानी, मासु तथा अण्डा बजारसम्मको ठूलो व्यावसायिक सञ्जालका कारण पोल्ट्री क्षेत्र नेपालको कृषि अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको छ।

पोल्ट्री क्षेत्रले किसान मात्र नभई दाना उद्योग, ह्याचरी, भेटेरिनरी सेवा, औषधि व्यवसाय, कृषि सामग्री, यातायात, श्रमिक, मासु पसल तथा बजारसँग जोडिएका हजारौँ व्यवसाय र रोजगारीलाई समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडेको छ।

उत्पादनसँगै चुनौती पनि बढ्दै

पोल्ट्री क्षेत्रको आकार बढ्दै गए पनि यसको लागत संरचना अझै चुनौतीपूर्ण रहेको छ। विशेषगरी दाना उत्पादनका लागि आवश्यक मकै, सोया तथा अन्य कच्चा पदार्थमा आयात निर्भरता रहेको हुँदा अन्तर्राष्ट्रिय बजार, विनिमय दर तथा आयात नीतिको प्रभाव नेपाली पोल्ट्री उद्योगमा प्रत्यक्ष पर्ने गरेको छ।



त्यस्तै रोग नियन्त्रण, बर्डफ्लु जोखिम, उत्पादन लागत, चल्लाको मूल्य, दाना मूल्य, किसानले पाउने बजार मूल्य, बीमा, वित्तीय पहुँच तथा बजार व्यवस्थापन पनि उद्योगका प्रमुख विषय हुन्।

यद्यपि पछिल्लो तथ्यांकले नेपालमा ब्रोइलर तथा लेयर्स ब्रीडरको स्वदेशी उत्पादन क्षमता बढिरहेको र दाना उद्योगको उत्पादन १३ लाख मेट्रिक टनको स्तरमा पुगेको देखाएको छ।

नेपाल दाना उद्योग संघका लागि डा. दिनेश गौतमले तयार पारेको तथ्यांकले पोल्ट्री क्षेत्रलाई केवल कुखुरा उत्पादनको व्यवसायका रूपमा नभई दाना, ब्रीडर, ह्याचरी, औषधि, उपकरण, किसान, बजार र उपभोक्तासम्म फैलिएको ठूलो कृषि–औद्योगिक क्षेत्रका रूपमा चित्रण गरेको छ।

स्रोत: नेपाल दाना उद्योग संघका लागि डा. दिनेश गौतमद्वारा तयार गरिएको पोल्ट्री क्षेत्रसम्बन्धी तथ्यांक।



प्रतिक्रिया